Header Ads Widget

Responsive Advertisement

पल्लो घरको झ्याल


भर्खर चुनावी धडपले थकित भएर राजधानी फर्केको ज्यान अझ त्यसैमा पराजयको अपत्यारिलो अनुभव बोकेर राजधानी फर्केको थिएँ । लगभग तिहारपछी कोठामा एकनासले बस्न पाइएको थिएन । दशैंमा घर अनि तिहार अघि सल्यान जिल्लामा कामको सिलसिलामा हिड्दा पल्लो घरको झ्याल चियाउने अवसर मिलेको थिएन । तिहार लगत्तै सिन्धुपाल्चोकमा कलेजको फिल्डवर्क हुनुले जीवनशैली निकै व्यस्त जस्तै बनेको थियो । कोठा केहिदिन आफ्नै लागि पनि नयाँ जस्तै बनेको थियो । घरभेटिको किचकिच सहन नसक्ने पुराना छिमेकी कोठा सरिसकेका थिए । नयाँ आएका छिमेकीहरु मलाइ झनै नयाँ सोच्थे अनि घरभेटीका नराम्रा आनिबानीको बारेमा सुझाव दिन्थे । केही सहनशीलता भएका म भन्दा पनि पुराना मान्छेहरु बाँकी थिए । लगत्तै निर्वाचनको समय आएकोले केहिदिनमै घर जानुपर्ने भयो ।
यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले धेरै पाठ सिक्ने मौका मिल्यो । चुनाव जित्ने उम्मेदवारको अवस्था, निष्ठा, दुरदर्शिता, क्षमता निकै टाढा राखेर मतदाताले मतदान गर्ने रहेछन् । हुन त राजनैतिक अस्थिरताबाट आजित जनताले स्थायी सरकारको निमित्त वाम गठबन्धनलाई बहुमत दिएको आकलन धेरैले गर्ने गर्छन् । तर त्यतीसम्म राजनैतिक चेतनाले नेपाली जनता पोख्त छन् भन्ने कुरा मलाई विश्वास लाग्दैन । रविन्द्र मिश्रले चुनाव जित्नुपर्थ्यो भन्ने मान्छेले त्यही रविन्द्र आफ्नो ठाउँमा उम्मेदवार भएर आएमा भोट नदिने रहेछ ।
चुनाव जित्न समाजसेवा गर्नुपर्छ भन्ने कुरा झुठो ठहरियो जब जाजरकोटमा राजिव विक्रम शाहले पराजय भोगे । हाइप्रोफाइल नेता हुनुपर्छ भन्ने कुरा पनि धेरै ठाउँमा झुठो ठहरियो । संगठन बलियो हुनुपर्छ भन्ने तर्कलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार छक्क बहादुरले हुम्लाबाट चुनाव जिते । राम्रो र विकासप्रेमी हुनुपर्छ भन्ने कुरालाई पनि यसपटकको चुनावको परिणामले गलत सावित गरिदियो । जे होस् मैले यसपटकको चुनावमा धेरै अनुभव बटुल्ने मौका पाएँ । 
लामो यात्रा पश्चात् राजधानी पुगेर रात्रीबसको थकान मेटाउन म विश्राम गर्न थाले । रातभरको अनिदोले थकित शरीर कतिबेला निदायो पत्तै भएन । साँझपख फोन बजेपछि निद्रा खुल्यो । दुर्गा लगायतका केही साथीहरू जम्मा भएर चिया पिउन पाँगा दोबाटो तिर निस्केका रहेछन् । म पनि केहिबेरमा सामेल भएँ । निर्वाचनका दौरान पराजित मानसिकता बोकेर राजधानी छिरेका साथीहरूलाई सान्त्वना दिदै केही समसामयिक परिवेशमा कुरा भए ।

कोठामा फर्किदा झमक्क साँझ परिसकेको थियो । वरपरका घरका झ्यालहरुमा पर्दा उज्याला देखिन्थे । झ्यालबाट देखिने सबै घरहरूमा नजर दौडाएपछी मेरो नजर आफ्नै कोठा अगाडिको घरको झ्यालमा गएर अडियो । जहाँ पहिलेपनी अक्सर नजर अडिने गर्थ्यो । झ्यालका पर्दाको रंग फेरिएका थिए । कोहि नयाँ मान्छे आएछ भन्ने आभास भयो । मन केही गरुङ्गो भयो । अलिक नरमाइलो लाग्यो । म तल्लो तलामा बस्ने त्यो झ्याल पहिलो तलाबाट मेरो कोठातिर फर्केको थियो । पहिले त्यहाँ एक सुन्दर युवती बस्थिन् । एक्लै बस्थिन् । उनको कोठाबाट मेरो कोठामा नजर पर्न असम्भव जस्तै थियो । बरन्डामा बसेको बेला मैले उनलाई पहिलोपटक देखेको हुँ । आफ्नो त तल्लो तला बरण्डा पनि थिएन । अझै माथिल्लो तलामा बस्नेले तल्लो तलामा हेरिदिनु असामान्य थियो । म आफुपनी एक्लै बस्ने हुनाले उनी एक किसिमले मेरै साथी जस्तै थिइन् । म कुनै योजनामा विचलित हुँदा त्यही झ्यालमा नजर पुर्‍याउथेँ । उनी को हुन मलाई थाह थिएन । तर कुनै साँझ त्यो झ्याल अँध्यारो हुँदा मलाई एक्लोपनले हैरान बनाउथ्यो । संयोगले त्यतातिर फर्केको झ्याल मेरो मात्रै थियो । अरु कसैले त्यो कोठाको झ्याल देख्न सक्दैनथे । त्यसबखत मलाई कोठामा पर्दा फेरिएको देखेर ज्यादै नरमाइलो लाग्यो । एक सुन्दर छिमेकी गुमाएको जस्तो भयो । केहिबेरपछी उक्त झ्यालमा दुइवटा मानवीय आकृति कालो छाँया जस्तै रुपमा देखा पर्‍यो । अब म उनी कोठा सरेकोमा ढुक्क भएँ । उक्त छाँयामा एक पुरुष र अर्को महिला आकृति अनुमान लगाउन सकिन्थ्यो । त्यो दिनदेखि मेरो त्यो झ्यालतिर नजर कम हुँदै गयो । म आफ्नै कामना तल्लीन हुन थालेँ ।

एकदिन जुनेली रातमा बाहिर चियाउदै गर्दा फेरि नजर अगाडिको झ्यालमा पुगेर अडियो । अडिनु स्वभविक थियो । पर्दा नलगाई उज्यालो कोठामा दुई मान्छे निकट थिए । एकदमै निकट । म उक्त दृश्य हेर्न नचाहे पनि हेरिरहेको थिएँ । बेलाबखत युवतीले एक युवकको नाक चिमोटेर भागेको दृश्य अनि युवकले लखेटेर पर कुनामा पुगेकी केटीलाई प्रेमपुर्वक जुरुक्क उठाएर ल्याएको हेर्न लायक देखिन्थ्यो ।
 एकछिन पछि पर्दा घर्लप्प झर्‍यो । अनि छाया पनि देखिन छाड्यो । भोलिपल्ट शनिबार थियो दिनभर झ्याल पर्दा केही खुलेन । साँझसम्म पनि खुलेन । निकै दिनसम्म खुलेन । म आफ्नो दैनिकमा अभ्यस्त हुन थालिसकेको थिएँ ।
निकै दिनपछि एकपटक कोठामा फर्किदा उनीजस्तै एउटा मान्छे मेरो अगाडि हिडिरहेको देखेँ । उस्तै लाग्यो । त्यो मान्छे मेरो अगाडि अगाडि हिड्दै त्यही घरको गेटबाट भित्र छिर्यो । म दोधारमा परेँ । हतार हतार कोठामा गएर झ्यालबाट चियाएँ । केहिबेर अगाडि बन्द पर्दा र झ्याल एकाएक खुले । सोही मान्छे फेरि सोही कोठामा देखापर्‍यो । म अचम्मित भएँ । केहिबेर हेरिरहेँ । अनि सोचेँ पर्दा किन बदलियो ? त्यो अर्को मान्छे को थियो ? मेरा जिज्ञासाले मलाई सजिलोसँग बस्न दिएका थिएनन् ।
म बेलाबेलामा झ्यालमा बसेर घाम ताप्दै गरेको मान्छेलाई हेर्दै थिएँ । केहिबेर पछि काम विशेषले बाहिर निस्किनुपर्ने भयो । साँझपख फेरि एक युवक जस्तो आकृति उक्त कोठामा देखा पर्‍यो । मलाई ठम्याउन गाह्रो भयो । हुन त मेरो जिज्ञासाको विषय थिएन तैपनि खै किन मलाई यो नै जान्नु थियो ।

यसको ४ दिनपछि उनिसंग तरकारी पसलमा जंकाभेट भयो । यो नै मेरो सबैभन्दा निकट भेट थियो । मैले यति नजिकैबाट उनलाई अहिलेसम्म देखेको थिएन । उनले कसैलाई फोन गरेर आज तरकारी के खाने भनेर सोधिन् । म चुपचाप उनलाई हेरिरहेको थिएँ । आलु, प्याज र काउली तौलिसकेपछी म उभिएको ठाउँ नजिक भएको टमाटर छान्न आउँदा मैले उनको अनुहार पहिलोपटक यति नजिकैबाट देखेँ । हसिलो अनुहारमा खुसीको रंगहरु दौडिरहेको जस्तो देखिन्थ्यो । श्रृङ्गारमा कुनै कमि थिएन । उनको सिउँदोमा चिटिक्क सुहाउँदो सिन्दुरको रंग मैले निकै पछिमात्रै ख्याल गरेँ । यो मंसिरमा उनीहरुको बिवाह भएको जस्तो अड्कल लगाएँ ।
आहा !! भर्खर  विहे गरेका सुन्दर देखिने स्त्रीहरुमा सबैभन्दा सुन्दर लाग्यो । म आफैभित्र हराउँदै गर्दा उनी पसलबाट निस्किसकेकी रहिछन् । पसलबाट तरकारी बोकेर प्रशन्न मुद्रामा म कोठामा पुगेँ । म मा खै किन छुट्टै उत्साह थियो । खाना पकाउँदा त्यो झ्यालमा बारम्बार हेर्ने गर्थें । पर्दा लागिसकेको थियो ।

एकदिन खाना खाइसकेपछी त्यो झ्यालमा नजर पुग्यो । नव विबाहित जोडि केही रोमान्चित हुँदै थिए । युवती चकचके जस्ती लाग्थ्यो युवक भलाद्मी जस्तो देखिन्थ्यो । युवती जथाभावी चुम्बन गर्थी युवक पछाडि सरेर प्रतिरक्षा गर्थ्यो । हेर्दाहेर्दै युवतीले झ्यालको पर्दा लगाइदिइन् । म बाहेक अरु कुनै घरबाट त्यो झ्यालमा नजर नपुग्नु उनीहरुको लागि फाइदाजनक थियो । साहेद मेरो झ्यालबाट यो सब देखिने उनिहरुले हेक्का राखेनन् । यो शृङ्खला बारम्बार दोहोरिन्थो । एक रात उनिहरुले पर्दा लगाउन बिर्सिए । मैले दर्शक बनेर उनीहरुको गोप्यता हेरिरहनु उचित लागेन । अनि मैले आफ्नो कोठाको पर्दा लगाइदिएँ । म एक हप्ता काठमाडौं बाहिर जानुपर्ने भयो । फर्केको दिन फेरि झ्यालतर्फ चियाएँ । यसपटक पनि पर्दा लगाइएको थिएन । किनकि यसपटक झ्यालमा पर्दा नै थिएन । उनीहरु कोठा सरिसकेछन् । अनि मेरो झ्यालको पर्द्दा खोलेर नजर त्यो पल्लो घरको झ्याल तिर कहिल्यै पुगेन ।

©ILamsal

Post a Comment

5 Comments