Header Ads Widget

Responsive Advertisement

रारा जानेले देखेको सुर्खेत, सुर्खेत होइन वीरेन्द्रनगर हो

 

धेरै समय भयो लेख्छु भनेको तर कसैले पत्याउदैनन भनेर लेखिएन ! फेरि सोचें, मैले कसैले पत्याइदिनलाई लेख्ने पनि त हैन ! 

आज लेख्न सुरु गरें । थाह छैन पूरा गर्छु या आधामै धैर्यता टुट्छ ।


जेठ २५, २०७८ सुर्खेतको अधिकतम तापक्रम ३३° र नेपालगन्जको ३५° सेन्टिग्रेड आदिआदि !

बेलुकापख सुर्खेत लगायतका जिल्लामा लोडसेडिङ भएछ ! सुर्खेत जिल्ला नै त नभनौं वीरेन्द्रनगर र यसभन्दा पूर्वका भूभागहरु ! पश्चिमतिर त कहिल्यै बिजुली जाँदैन अर्थात प्रशारण लाइन जाँदैन ! पंखाको हावामा चयनको निद निदाउने कैयौंविलासी शरिरले पसिना निकालेछन् ! 

अहो ! दोलखा भिमशेनलाई पसिना आएभन्दा बढी खैलाबैला भयो । हुन त शारीरिक श्रमले पसिना नआएकाहरुलाई पसिना आउँदा अनिष्ट भएझैं लाग्यो पनि होला । ठीकै हो ! सिमेन्टको घर, जेठको गर्मी ! घरमा जोडेको बिजुलीमा करेन्ट छैन । कति बिस्तरा त दिनभरको चर्को घामले तातेको छतमा इनारको पानी खन्याउँदै सारिए ! लामखुट्टेको आतंक ! प्राय वीरेन्द्रनगरको बसाइँ कष्टकर नै छ । तिमध्ये प्रायः कसैले पनि विभिन्न सामाजिक संजालमा प्राधिकरण बारे आक्रोश पोख्न छुटाएनन् । लामो समयदेखि अस्थिर सुर्खेतको बिद्धुतको टिप्पणी पढ्दै आएको हो यो अझैसम्म निरन्तर छ । यो लेख लेख्दै गर्दा म काठमाडौं कीर्तिपुरस्थित आफ्नो भाडाको निवासमा सरकारले दिएको बिजुली निश्चित महसुस तिरेर बालिरहेको छु ! मलाई झट्ट लोडसेडिङ हुँदैमा कुनै दु:ख लाग्दैन ! आज जान्छ ढिलै आए भोलि त आइहाल्छ नि । कहिलेकाहीँ कम्प्युटरमा लामो समय देखि गरेको काम सुरक्षित नगरेको बेला झट्ट बिजुली काटिंदा दु:ख लाग्छ, रिस उठ्छ तर त्यसमा आफ्नै दोष हो नि सुरक्षित (सेभ) गरेर राख्नुपर्ने !
लोडसेडिङ सामान्य प्रक्रिया हो मलाई कुनै अनौठो लाग्दैन ! कुलमानलाई दोहोरो कार्यकाल ल्याउनुपर्छ भनेर पनि कुनै आह्वान गरिएन । हुन त गर्नेहरुले पनि कौनसा कुलमान पाए र जो आएपनि कुलमान चाहनेलाई सदैव चाहिएजति बिजुली आपूर्ति होस् मलाई कुलमान र हितेन्द्रले खासै फरक पर्दैन !

मलाई आजसम्म प्राधिकरण संग ३/४ बर्ष पहिलेसम्म थोरै समय मात्र रिस उठेको थियो ! त्यो समय बिजुली नभएर निदाउन नसक्नेहरुको भन्दा मलाई बिजुली जरुरी थियो ! त्यो सानो अवधी थियो । मेरो अध्ययनको दौरान !
प्रयोगात्मक परिक्षाको दिन सुरुवाती पृष्ठमा रंगिन पानामा मुद्रण गरि विषय, आफ्नो नाम, परिक्षा रोल नं. आदि खुलाएर बाइन्डिङ गर्नुपर्ने हुन्थ्यो ! ५० जनामा कहिलेकाहीँ मुस्किलले ३/४ जनाले अघिल्लो दिन बाइन्डिङ गर्ने हो नत्र जम्मै एकैदिन, एकै स्थान, एकै समय ! यस्तो बेलामा बिजुली काटियो भने रिस उठ्ने ! अनि सोधपत्र बुझाउने अन्तिम दिन पनि यस्तै आक्रोश हुन्थ्यो ! आक्रोश जायज पनि हो यो समय एकरात निदाउन नसक्नेहरुको जस्तो सहज थिएन ! पूरा भैसकेको सोधकार्य बुझाउन नसके ६ महिना पछि परिन्थ्यो । निदाउन नसक्नेले भोलिपल्टै निदाउन पाउँछन् । खासमा सोधपत्र अर्थात थेसिस कहिल्यै पूर्ण हुँदैन जति समय दियो उति राम्रो हुँदै जान्छ ! आफ्नो त्यो समय उत्कृष्ट भनेको थेसिस २ महिनापछि हेर्नुभयो भने अलिक समय मेहनत गरेको भए अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ ! तर पेश गर्ने मिति २ महिना बढाइयो भने पनि नतिजामा खासै फेरबदल हुँदैन ! खैर ठीकै छ ! अनुसन्धान मेहनत साथ जति समय लिएर गर्यो त्यति राम्रो बन्छ ! त्यतातिर नजाऔं ! बिजुलीतिर लागौं ।

धेरै जना पढ्दापढ्दै वाहियात लेख लेख्ने भनेर यहाँसम्म आइपुग्नुहुन्न । मलाई गाली गर्दै यहाँ पुग्ने धैर्यता राख्नुभयो भने अब अन्तिमसम्म पढेरै निस्किनुहुन्छ ।

बिजुली आएपछि नै करेन्ट लागेर मृत्युदर बढेको हो भनेर तर्क गर्नेहरुपनि होलान् म त्यतातिर जान्न ! आजको दिनमा हाम्रा नेताले जनताको माया अत्याधिक गर्छन् कि जस्तो पनि लाग्छ । गाउँमा विद्दुतिकरण गर्यो भने करेन्ट लागेर मतदाता मर्छन् भन्ने सोचेर पनि होला धेरै ठाउँमा बिजुली छैन ! त्यसैले मेरा प्यारा नेताजीलाई बिजुली ल्याउन पहल नगरेकोमा हार्दिक बधाइ दिन चाहन्छु हजुरको यस्तो प्रेम अपेक्षा नगरेपनि अझै लामो समय ब्यहोर्नपर्ने कुरामा म विश्वस्त छु । त्यसैले मजस्ताले एकदुई घण्टा/ एकदुई दिन सहरमा बिजुली नहुँदैमा आकसै खसेको मान्दैनन् ।

मेरो घर सुर्खेत जिल्ला, साविक साल्कोट गाविस हाल पन्चपुरी नगरपालिका वडा नं ३ मा हो ! जिल्ला मात्रै सुर्खेत हो ! रारा जानेहरुले सुर्खेत पुगेर चिटिक्क बजारक्षेत्र घुमेर कर्णाली राजमार्ग हुँदै आवतजावत गर्दा सुर्खेत सुन्दर नगरी लाग्छ । एकदुई रात बिताउँछन् । सुर्खेतलाई सुविधासम्पन्न जिल्लामा राख्छन् । सुर्खेत घुमेको भन्छन् । हुन त प्रतिनिधित्वको हिसाबले मान्छेले जिल्ला नै चिन्ने हो । अपवाद बाहेक ठाउँमा प्राय जिल्लाकै नाम नै घुमेको भन्ने गरिन्छ । पोखरा, हेटौंडा, बुटवल, लुम्बिनी आदि ठाउँहरुले जिल्लाको नाम गौण बनाइदिन्छन् ।
रारा घुमेर आउनेले देखेको सुर्खेत, सुर्खेत होइन वीरेन्द्रनगर हो । भन्न त हामी पश्चिम सुर्खेत; वराहताल गाउँपालिका (बड्डिचौर), पन्चपुरी न.पा., चौकुने गाउँपालिका बस्ने हर कोहिले वीरेन्द्रनगर जाँदा सुर्खेत जाने भन्छौं जिल्ला त हाम्रो पनि सुर्खेत नै हो तर सुविधाले कर्णाली भएर होला हाम्रो लागि सुर्खेत ठेगाना लेख्न मात्र काम लाग्छ बोलिचालीमा हैन ।
२०५२ तिर सडक संजालमा जोडिएको पश्चिम सुर्खेत अझैसम्म पनि बिजुलीले जोडिन सकेन ! करिब ४५ किमीको सडकयात्रा गर्दा पहिले पूरा दिन छुट्याउनु पर्थ्यो अहिले ३ घण्टा छुट्याए हुन्छ । यो सन्दर्भ पानी नपर्ने सिजनमा मात्रै लागू हुन्छ । बर्षामा एम्बुलेन्स पनि चल्दैन भन्दा हामीलाई सामान्य लाग्छ तपाईं पाठकहरुलाई अजिब लाग्न सक्छ !
सरकारमा जानेहरुको सन्दर्भमा मधेस पछिको भाग्यमानी नेता हाम्रै सुर्खेत पश्चिमका हुन्छन् ! पूराना कांग्रेस नेता पूर्वमन्त्री शिवराज जोशी, प्रथम संविधानसभा सदस्य एनेकपा माओवादीका नेता नरबहादुर बिष्ट, दोश्रो संविधानसभा सदस्य कांग्रेस नेता पूर्वसूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्ट, निवर्तमान स्वास्थ्य राज्यमन्त्री नवराज रावत त्यस क्षेत्रबाट संसद र सरकारमा प्रतिनिधित्व गर्ने नेताहरू हुन् । भाग्यमानी नेताका अभागी जनताको रुपमा चाहिँ पश्चिम सुर्खेत तराई / मधेसका जनताभन्दा अगाडि छन्माओवादी बिद्रोहले तत्कालीन विकास निर्माण रोकिएता पनि त्यसपछिका प्रतिनिधिले उल्लेख्य काम गर्न सकेनन् ! फलस्वरूप म आजको दिनमा शहरको कुनै कुनामा लोडसेडिङ हुनुलाई सामान्य मान्न पुगेको छु ।
कर्णाली राजमार्ग खुलेपछि सवारी आवगमन पनि भयो ! मिलन लामा र देवी घर्तीले "बायो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको'' बोलको गीत गाए ! वीरेन्द्रनगर देखि बड्डिचौर सम्मको सडक स्तरोन्नति हुँदै कर्णाली तिरै मोडियो ! कच्ची बाटो हुँदा पहिलोपटक त्यतातिर जाने यात्रीहरु झुक्किन्थे ! कालीकोट जान हिंडेकाहरु बाटो बिराएर सिधा अलिक अगाडि पुगेर फर्किन्थे तर विकासले बाटो बिराएन । हामी कर्णाली भन्दा पछाडी ! केही बर्ष अघि सोही बाटोको किनारैकिनार बिजुलीका तार समेत गए यसपटक पनि बाटो बिराएनन् ।
मैले कक्षा ८ मा पढ्दा पहिलोपटक बिजुली देखेको त्यो पनि भाग्यले वीरेन्द्रनगर जान पाउँदा ! नत्र मट्टीतेलको टुकीमै हाम्रो माध्यामिक शिक्षा सकिएको हो । २०६५ पछि मैले घर छोडें । उच्च शिक्षा अध्ययनको लागि जन उच्च मावी, वीरेन्द्रनगर, त्रि-चन्द्र क्याम्पस घण्टाघर हुँदै , त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर गरेको म घर जाँदा एउटा पावर ब्याङ्क र ल्यापटप चार्ज गरेर लैजान्छु । त्यसबाट मोबाइलमा चार्ज गरेर केही समय संचार क्षेत्रसँग जोडिन सकिन्छ ! सबतिर चार्ज सकियो भने त्यहाँका बोर्डिङ स्कुलमा अलिक ठूलो सोलार जोडिएको छ त्यहीँ पुग्नुपर्छ । प्रीन्सिपल धर्मराज बयक सर मनकारी हुनुहुन्छ सदैव हार्दिकताका साथ स्वागत गर्नुहुन्छ । मोबाइल चार्ज होउन्जेल हामी समसामयिक विषयमा गफिन्छौं । खाली रहेछ भने कक्षामा पनि छिर्छु । नियमित पढाइबाट केही छिन अलग वातावरण बनाउँछु ! भाइबहिनीलाई हौसला दिन्छु । भाइबहिनी भन्दापनि भतिज भतिजी, भान्जाभान्जीहरु धेरै छन् त्यतातिर जाँदा उमेरको कुरो आउला छोड्दिउँ ! उनीहरू पनि गफिन पाउँदा खुशी हुन्छन् । म बाहिरी दुनियाँ र पढाइको महत्त्व विषयमा केही बेर बोल्छु अनि वातावरण सहज पारेर बोल्न दिन्छ । मलाई शिक्षण/ प्राध्यापन मन पर्छ । मैले यसमा रमाउन जानेको छु । आजको दिनमा पनि बिहान एकभारी घाँस काटेर पढ्न आउने संख्या कम छैन त्यता ! हाम्रो बेलाको त कुरा नगरौं ! त्यसरी चार्ज गरेको मोबाईलमा पनि सजिलै सम्पर्क हुन सक्दैन ! हुनत केहि बर्ष अगाडि पन्चपुरीमा थ्री जी सेवा सुरु भन्ने समाचार काठमाडौंमा बसेर पढिएको हो । पन्चपुरीको समाचार पन्चपुरीमै बसेर पढ्न मिल्दैन किनकी त्यता टु जी पनि चल्दैन । एकपटक मैले घरमा हुँदा डाटा नचलेर काठमाडौंमा इमेलमार्फत हस्ताक्षर पठाउन नसक्दा एउटा कामको पारिश्रमिक पाउन ६ महिना कुर्नुपरेको थियो । यसरी चार्ज गरेको मोबाइलमा पनि नेटवर्क समस्याले त्यही पनि सजिलै सम्पर्क हुन सक्दैन ।

एकपटक के भयो भने, मलाई बाहिरबाट वीरेन्द्रनगर पुग्नुभएको एकजना साथीले फोन गर्नुभयो । म घरबाट सुर्खेत अर्थात वीरेन्द्रनगर जाँदै थिएँ ! उहाँ पनि त्यहिदिन काठमाडौं जाने कुरा सुनाउनुभयो । म पनि काठमाडौंको लागि निस्केको थिएँ ! संगै यात्रा गर्ने कुरा भयो । भोलि त सुर्खेत पुगिहालिन्छ भनेर मोबाइल मनमर्जी तरिकाले चलाएर चार्ज सकिन लागेको थियो ! बड्डिचौर पुग्दा चार्ज सकियो । मोबाइल अफ भयो । भन्न त मैले चार्ज कम छ भनेको थिएँ ! वीरेन्द्रनगर पुग्दा ३ बजिसकेको थियो । गाडिबाट ओर्लेर नजिकैको खाजा पसलमा छिरें । खाजा माग्नु पहिले आँखा घुमाएर भित्तामा प्लग भएको टेबुल छेउमा पुगेर बसें । चार्जिङ सुरु हुने बित्तिकै साथीलाई फोन गरें ! उहाँले साढे चारको टिकट लिनुभएछ । फोनअफ गर्ने यस्तो धोका दिने आदि इत्यादि भन्नुभयो । स्वभाविक पनि हो । चाडवाड पछि सजिलै सीट नपाइने समय दोहोरो संवाद नभएपछि उहाँ टिकट काट्न बाध्य हुनुभयो । मैले फोनमा एकजना साथीलाई भनेर २ वटा सिट राख्दिन लगाएको थिएँ ! दोश्रो कलमा उसैलाई फोन गरेर एउटा क्यान्सिल गर्न लगाएँ ! उ पनि एकछिन रिसायो । स्वभाविक हो ! गाडी छुट्नुभन्दा दुइ घण्टा पहिले रद्द गर्न लगाएको थिएँ । बिक्री हुने समय बाँकी भएकोले त्यति समस्या चाहिँ परेन ! अलग्गै बस चढेर गन्तव्यमा पुग्नुभएको साथीले आजका दिनसम्म पनि मैले नियतबस मोबाइल अफ गरेको आरोप लाउनुहुन्छ । बिजुली नहुनाले मैले एकैदिनमा दुइजनाको विश्वास गुमाउनुपर्यो । उहाँलाई नेपालको सुर्खेत जिल्ला पूरानो क्षेत्रीय सदरमुकाम, हालको प्रदेश राजधानी भएको जिल्लामा बिजुली हुन्न भन्ने प्रश्न उत्पत्ति हुनु स्वभाविक हो । हो उहाँले देखेजस्तै सहज छैन देश । सुबिधाले मान्छेलार्इ दुर्इ कित्तामा छुट्याएको छ एक हुन साँझपख बिजुली नहुँदा निदाउन नसक्ने प्रजातिका मान्छे । उहाँहरु यो देशका नागरिक हो । यहि देशमा छन् मेरा बा जस्ता कैयौ नागरिकताधारी अनागरिक बा हरु ! जसलाई राज्यले नागरिकता र हैरानी दिएर गुन लगाएको छ । बिजुली बाल्दैमा सबै पाएको भन्ने मनसाय पनि हैन तर बिजुली नदेखेका पनि धेरै जनता छन् यहाँ ।

अघिल्लो हप्ता हेर्ने कथामा देखाइएको पानीको कथा/ समस्या भएको गाउँ मेरो घरभन्दा पश्चिमतर्फ करिव २५/३० किमी टाढा छ । त्यहाँ पुग्न वीरेन्द्रनगरबाट यात्रा गर्दा सडक किनारमा केही बर्ष पहिले गाडिएका बिजुलीका पोलहरु देख्न सकिन्छ ! कोहि बाङ्गो, कुनै झुकावमा सुस्ताइरहेका पोलले तार बोकेका छैनन् । १/२ लाइन तार बोकेको भएपनी ती तारमा विद्युत प्रवाह हुन्न । केहि तार भुँइमा लतारिएका छन् । तार आवश्यक पर्नेले काटेर लैजान सक्छ । कतिपय काटिएका पनि छन् । कसलाई मतलव छ र ? भुइँमा लतारिएका, खिया लागेर जिर्ण बनेका तारले कहिले बिजुली बोक्छन् थाह छैन ।

अचेल बिजुली हेर्न वीरेन्द्रनगर पुग्नु पर्दैन ! नगरपालिका कार्यालय रहेको साविकको बाबियाचौर गाबिसमा लघु जलविद्युतबाट गाउँ उज्यालो छ । त्यसको बिजुली हाम्रो प्रार्थमिक स्वास्थ्यकेन्द्र सालकोटमा पनि ल्याइएको छ । एउटा सिंचाइ कुलोको पानीबाट पन्चपुरी २ मा उत्पादन गरिएको बिजुली १०/१५ घरले बाल्छन् । कम्तिमा हामीले देख्न पाइन्छ । सडकमार्ग भएर जानेले सडक छेउमा बिजुलीको पोल र तार देख्न सक्छन् ! अनि गाउँ विद्युतिकरण भएको अनुमान लगाउँछन् । त्यसैले भनेको हो रारा जानेले देखेको ठाउँ सुर्खेत होइन वीरेन्द्रनगर हो ।
हुन त गाउँमा प्राय घरमा सौर्य बिजुली छ ! हैसियत अनुसार कसैले सौर्य बिजुलीबाटै वाइफाइ पनि चलाउँछन् । तर त्यो सबै अस्थायी हो ! पानी पर्यो भने घाम लागेन भने एउटा मोबाइल चार्ज गर्नेबित्तिकै साँझपख बत्ती बाल्न समस्या हुन्छ ।
नेताजीहरु हरेक चुनावमा मत माग्दा बिजुली र सडकको आस देखाउँछन् ! अझै कोहि त बहुप्रतिक्षित चौकुने सिमेन्ट खानीको उत्पादन सुरु गराउने घोषणा नै गर्दिन्छन् । म त आउँदैन भन्ने थाह पाएरै पनि मतदान गर्छु । कम्तिमा एकजना नेताजीको भएपनि जीवनस्तर उकासिन्छ । जनतालाई बिजुली बाल्न सुबिधा दिन नसक्नेले धेरै बिजुली खपत हुने सिमेन्ट कारखाना संचालन गर्छु भनिदिन्छन् । सिमेन्ट कम्पनिले आफ्नै पहलमा खानीसम्म सडक पहुँचमार्ग निर्माण गरेको छ क्रमशः सिमेन्ट उत्पादनको प्रक्रिया अगाडि बढ्दै छ । तर सडक र बिजुली खानीसम्म पुर्याइदिन दायित्व बोकेको सरकारमा प्रतिनिधित्व गर्ने हाम्रा सांसदले त्यो पनि मैले गरें अब संचालन हुन्छ भन्न छुटाउँदैनन् । मलाई नेताजीबाट सिक्न मन लागेको र लालयित भएको एकमात्र कुरा आत्मविश्वास हो । त्यतिको आत्मविश्वास बनाउन सकेपछि मान्छे सफल हुन्छ । आफैले लेखेका घोषणापत्र पढ्छन् कसरी होला ?
संकटको बेला ४ सेट पीपीइ, २ दर्जन साबुन, एक दर्जन २५० मिलीलीटर भएको सेनिटाइजर कुनै गैरसरकारी संस्थाले दान गरेपनि फलानाको पहलमा भनेर प्रतिस्पर्धामा उत्रिने कार्यकर्ताहरुले आफ्ना नेतालाई यतिका प्रश्न सोध्न सक्ने हैसियत बनाउलान् ?
सदमुकामबाट ४० किलोमीटर टाढाको गाउँमा बिजुली किन जान्न ? न भौगोलिक विकटता न कुनै अवरोध ! यो विषयमा मैले धेरै सँग छलफल गरेको छु । मलाई लाग्छ पश्चिम सुर्खेतको विकास कसैले रोकेर राखेको छ । नत्र कसैले पहल नगरेपनी ५० को दशकको सुरुवातमा निर्माण भएको ठूलो क्षेत्र समेट्ने सडक किन स्तरोन्नति हुन्न ? यो त प्रक्रियागत रुपमा पनि कसैले पहल नगरे पनि हुनुपर्ने हो । वन मन्त्रालयले रुख काट्न नदिएर बिजुली रोकिएको भन्ने पनि सुनिन्छ । बिजुली लैजानै रोक्ने बन किन चाहियो । विकल्प हुँदासम्म त ठिकै हो बन क्षेत्र हुँदै जानुपर्ने वाध्यता भएमा किन रोक्ने ? हाम्रै विकासको बाधक हुने हो भने वन मन्त्रालयको औचित्य के हो ? अर्को मन्त्रालयको बाहनामा टाउको जोगाउने हो भने सडक राम्रो बनाउन कुन मन्त्रालयले रोक्यो ? खोलामा पुल बनाउन कुन कानूनले छेक्यो ? सुर्खेत जिल्लालाई अबको केही समयमा मन्त्रीहरुको जिल्ला भन्दा पनि फरक पर्दैन तैपनि पश्चिम सुर्खेत किन पछाडि छ ? आखिर कसले रोकेको छ विकास ? यो प्रश्न सदैव अनुत्तरित भयो । देशको अर्थतन्त्र आदि कुरा बिर्सने हो भने बिजुली नपुगेको गाउँको मलाई १/२ दिन बिजुली काटिदैमा आकाशै खसेजस्तो लाग्दैन् । कतिपयले हाम्रो तिर बिजुली छैन भन्दा पत्याउनुहुन्न । आजको दिनमा बिजुली बिनाको जीवन सोच्न पनि सक्नुहुन्न होला । हामी अझैसम्म पनि बिजुली ल्याउछु भन्नेलाई विश्वास गरेर मतदान गर्छौं ! यो रहर कम बाध्यता धेरै हो । बिजुली कसैले सौर्य बिजुली काँधमा बोकेर घरको छानोमा राखेजस्तो सहज छैन । बिजुली नहुने ठाउँमा पनि मान्छे बाँचेकै छन् ! गुजारा गरेकै छन् । लालसलाम भनेकै छन् ! जय नेपाल भनेकै छन् ! मतदान गरेकै छन् ! माननीय बनाएकै छन् । मन्त्री मानेकै छन् ! लुटिएकै छन ! नालायक भएपनि बेहोरेकै छन् । माला लाइदिएकै छन् ! स्वागत गरेकै छन् । अब बिजुली लगिदिनुभयो भने त छोरीको चुल्ठी बाटेको कपालबाट निकालेर, धोएर सुकाएर, टुक्रा टुक्रा गाँसेर ठूलो बनाएको रिबन बोकेर कैयौं आमाहरू उद्घाटन समारोहमा उभिनेछन् । माननीय ज्यु सरकारी मोटरबाट ओर्लेर तिनै रिबन लुटिएपछी केश फिँजारिएका नानीहरुले दिएका पुष्पगुच्छा समात्दै कैचिले रिबन काटेर उद्घाटन गर्नुहोला जसरी बर्षौंदेखि ती नानीहरुको भविष्य लुट्नुभएको थियो । जसरी ती नानीहरुका सपना सत्ताको कैचिले काटिएको थियो । अनि एउटा स्वीच थिचेर गाउँ झिलिमिली पार्दिनुहोला जसरी आजसम्म मतदान गर्ने औंलाहरुका अधिकार थिचिएका थिए  ! माननीय ज्यु अब जनतालाई माया गर्न छोड्नुस् । करेन्ट लागेर मरेपनि मर्छन् ! बिजुली पुर्याइदिनुस् ।

धन्यवाद !!

Post a Comment

0 Comments