Header Ads Widget

Responsive Advertisement

सर कि दाइ

सर नमस्कार !!
यो शब्दमा निकै ठूलो सम्मान लुकेको मानिन्छ । अझै नेपालीहरू त यी दुई शब्दका निकै पारखी हुन्छन् । २४ बर्षे जीवनकालमा मैलेपनि थुप्रैपटक यी शब्दको प्रयोग गरेको छु चाहे सदुपयोग होस् या दुरुपयोग । प्राय यी शब्द विद्यालयको तल्लो तहबाट सुरु हुन्छ । अझ भन्ने हो भने मुख्यतया सरकारी विद्यालयमा पढाउने गुरुहरुलाई सम्मान स्वरुप हरेक दिनजसो पहिलो भेटमा सर नमस्कार भन्ने गरिन्छ । सरकारी तथा निजामती कर्मचारी त यो शब्दका अत्यन्तै भोगी हुन्छन् । यतिसम्म कि कुनै सरकारी कार्यालयमा फाइल खोज्ने सहयोगी कर्मचारीलाई पनि तत्काल काम गराउन कि त चिया खर्च दिनुपर्छ अथवा नमस्कार सर मेरो फाइल खोज्दिनुपर्‍यो भनेर अनुरोध गर्नुपर्छ । यसले यी दुई शब्दको महत्व माथी प्रकाश पार्छ । यसबाट सर शब्दले अवस्था हेरेर केही सय रुपैयाँसम्मको हैसियत राख्छ ।



खास गरेर धेरै सेवाग्राही आउने सरकारी कार्यालय, विश्वविद्यालय, सार्वजनिक संस्थान, बसको टिकट बुकिङ काउन्टर आदि ठाउँमा काम गर्ने कर्मचारीले दाइ भनेको खासै मन पराउदैनन् र अपमान सम्म सम्झिन्छन् । सर शब्दले उनीहरु प्रफुल्ल हुन्छन् ।

सम्मानकै कुरा गर्ने हो भने दाइ भन्नू सर भनेभन्दा कैयौं गुणा सम्मानित हो । परिवारको एक सदस्यको रुपमा सम्मान गरेर बोल्नु कदापि नराम्रो होइन । तैपनि अङ्ग्रेजी शब्द भएको कारणले होला मान्छेले सरको उपाधी पाउनु उच्च सम्मान सम्झन्छन् । पहिले बिजुली, टेलीफोन र खानेपानीको महसुल बुझाउने लामो लाइनमा बसेको बेला झ्याल बाहिरबाट भित्र कोठामा बसेको कुनै कर्मचारीलाई ४/५ पटक दाइ भन्दा पनि बाहिर नहेर्ने तर सर भनेपछि एकैपटकमा ध्यानाकर्षण हुने गरेको अनुभव मसंग कैयौं छ । सर भनेकै कारण अलि पछि पालो आउने भएपनी अरु भन्दा अगाडि नै काम गराएर पनि फर्केको छु । यसको सबैभन्दा उपयुक्त ठाउँ त्रिभुवन विश्वविद्यालय को परिक्षा नियन्त्रण कार्यालय बल्खु हो । दैनिक अलमलमा पर्ने हजारौं विद्यार्थीले भित्र बसेर कागजातमा भएको नाम समेत पढेर खोज्न नजान्ने अनि बाहिरबाट भनेका समस्यामा रत्तिभर पनि ध्यान नदिने कर्मचारीलाई दाइ भन्यो भने झ्याल भित्रैबाट खाउला जस्तो आँखा पारेर हेर्ने चलन म लगायत तपाइँ धेरैका लागि नौलो होइन । टाढाबाट राजधानीमा बसेर पढ्ने मान्छेलाई गाउँ घरबाट बल्खु तथा सानोठिमीमा रहेका परिक्षा नियन्त्रण कार्यालयमा मार्कसीटमा नाम सच्याउने, ट्रान्सकिप्ट बनाउने जस्ता स्वयमसेवी काम हप्तामा एउटा जसो आइरहेका हुन्छन् । बैंक देखि विभिन्न कोठाको झ्यालमा लाइन बस्दा एकदिन बिताउन खासै समस्या हुदैन कहिलेकाही त २ दिन पनि लाग्छ । अनि काम गराउने प्राय मान्छेले भन्छन् काठमाडौं बसेर त्यति गर्न सक्दैनस् ? अनि सोध्छन् ट्रान्सकिप्टको पैसा कति लाग्छ ? भन्न पर्यो ३५० रुपैयाँ अनि कतिपयले त कागजात सहित कोहि मान्छेसँग रु ३५० मात्रै पठाइदिन्छन् । जबकी ५० रुपैयाँ गाडी भाडा त त्यो कागजात लिन जाँदा नै सकिन्छ। अनि कागजात पेश गर्न जाँदाको दिन ट्रान्सकिप्ट बनेपछि लिन जाँदाको दिनको भाडा र खाजा सहित ३ दिनको नोक्सानी सहित स्वयमसेवा गर्दा यस्ता समस्यासँग परिचित हुनु हाम्रो दैनिकी हो । अचेल त नयाँ बाटो थाह भैसक्यो । परिक्षा नियन्त्रण कार्यालय बल्खुमा विभिन्न कोठाको झ्यालमा लामो लाइन बस्नुभन्दा भित्री बाटोबाट कोठाभित्र छिरेर नाम समेत पढ्न नजान्ने कर्मचारीलाई सर नमस्कार भनेर भित्रका अरु कर्मचारीलाई अनुरोध गरेर तत्काल काम गराएर निस्कनुमै भलो हुन्छ । कुनै खाजा खान रेस्टुरेन्टमा जाँदा वेटरले गाडी चढ्दा सहचालकले सर भनिदियो भने मान्छे आफुले आफैलाई सम्मान गर्न थाल्छ अनि दाइ भनिएमा अपमानित महसुस गर्छ । तर सर शब्द दाइ भन्दा सम्मानित भने होइन ।

अब विश्वविद्यालयको कुरा गरौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसहरुमा काम गर्ने कर्मचारी त झन राजपरिवार सदस्यजस्तै बलवान् छन् । अन्य आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा प्रशासन, लेखा र पुस्तकालयमा काम गर्ने कर्मचारीलाई विद्यार्थीहरुले दाइ, अंकल भनेर पारिवारिक सम्मान गर्ने गर्छन् । यस्तै आंगिक क्याम्पस बाट विश्वविद्यालय छिरेका एकजना साथीले प्रशासनमा काम गर्ने कर्मचारीलाई दाइ भनेको कारण निकै असभ्य गालिगलोज सुन्न परेको अनुभव सुनाएका पनि थिए । यस्तो विषयमा कर्मचारीसंग वादविवाद गर्दा विद्यार्थीले अनावश्यक हैरानी र क्षति व्यहोर्नुपरेको इतिहास रहेछ । तसर्थ अपमानजनक व्यवहार सहनु नौलो घटना रहेनछ ।
सर शब्द सबैको प्रीय हुँदाहुँदै पनि कतिपय आफुलाई अध्यापन गराउनुभएका गुरुहरुले अध्यापन छोडेपछि अपवादको रुपमा सर नभन हामी दाजुभाइ हो भन्दै महानता देखाउनु हुन्छ । यो सर, नमस्कार छोड्नुपर्छ दाजुभाइ हात मिलाउने हो भन्दै आउनुहुन्छ र मनमा उहाँ प्रती अझै सम्मान बढेर जान्छ । तर कोही पहिले दाजुभाइ अनि साथी सरहका व्यक्ति केही समय सहयोगी प्रध्यापन भुमिकामा आएपछी साथिसंग नै सर को अपेक्षा गर्छन् । सर आफैमा सम्मानित शब्द हो ।तर कसैको लागि सम्मान आफै बनेर आउनुपर्छ । कसैले अपेक्षा र आग्रहमा गर्दैमा उपलब्ध हुदैन ।
नेपाल जस्तो चाप्लुसी चल्ने र पदको बलमा अन्याय गर्ने ठाउँमा अवस्था अनुसारको व्यवस्था गर्नुपर्छ । जसलाई जे मनपर्छ त्यही गरिदिनुपर्छ । सर भनिदिंदा आफ्नो काम बन्छ भने त्यसमा लालच गर्नु हुदैन । सबैलाई सम्मानित भएर जीउन आवश्यक छ । तपाइँको शब्दले कसैलाई सम्मानित महसुस हुन सक्छ त्यसैले भनिदिनुस् 'सर नमस्कार ।'

Post a Comment

0 Comments