Header Ads Widget

Responsive Advertisement

नारी दिवस



पहिलोपटक तोते बोलेको त याद छैन
तर बोलेको पहिलो वाक्य
नबुझे पनि
आमा भनेको हो भन्ने अनुमान गरेर
अनुहार हँसिलो बनाउने नारी
मेरी आमा हुन्
म थोते हुँदा अर्थात थोते बन्ने बेलामा
दुखाइ खप्न नसकेर ओत लाग्ने गुन्यु पनि आमाको हो

माओवादीले बस्न नदिएपछि
बाध्यताले बा आमा निर्वासित भएको बेला
राती गोली चेलेको आवाज आउँदा
अंगालोमा च्यापेर ढाढस दिने

कुनै कारण साँझपख ठुस्स परेर
खाना नखाइ घुर्‍क्याउँदा
पीरले बरर आँसु खसालेर
खाना खान बाध्य बनाउने नारी
अर्थात मेरी दिदी

दाजुले दिएको रकम पुग्दैन कि भनेर
दाजुले कमाएको र खर्च गर्न दिएको रुपैयाँ
जोगाएर
हिड्ने बेला दाजुबाटै लुकाएर गोजीमा राखिदिने
मैलो बाहुला भएको तर
मलाई सफा लाग्ने लुगामा पनी मैलो देखेर
सुकिलो बनाइदिन हतार गर्ने नारी
अर्थात भाउजु

अंकलको बिहेमा नाच्नुपर्छ
रमाउनुपर्छ भन्ने छोरी
अनि मामासंगै काठमाडौं जान्छु भनेर
बससम्म आएर
रुँदै रुँदै फर्किने प्यारी भान्जी
अनि
सद्भाव बोकेर भेटिने र फेरि भेटिने समय तय गरेर छुट्टिने
जम्मै नारीहरु
अर्थात मेरा साथीहरू

यी जम्मै नारीहरुको भिडमा
मैले आज फेरि तिमीलाई याद गरें

तिमीमा पनि केही समानता थिए
जस्तो तिमी चकलेट खोज्थ्यौ
छोरी, भान्जीहरुले जस्तो
नछुट्टिन खोज्थ्यौ, आमाले जस्तो

यसबीचमा थुप्रै असमानता पनि भेटिए
जस्तो तिमीले सफा देख्न चाह्यौ
सफा बनाउन चाहिनौ
मुखभरीको पसिना पुछ्न
दिदीहरु पछ्यौरा दिन्थे
तिमी नेपकिन दिन्थ्यौ
तिमी कसम खुवाउथ्यौ
दिदीहरु खाना खुवाउँछन
म पहिलोपटक बोलेको दिन याद छैन
तिमीसँग पहिलोपटक बोलेको दिन
सम्झना
अरु कसैले जुठो खादैनन्
तिमी जुठो खान्थ्यौ
तर यी सबैभन्दा बिल्कुल फरक
एक भेटलाई तिमीले
घोषणा नगरेरै अन्तिम भेट बनाइदियौ

सबैभन्दा ठूलो फरक त
कहिलेकाहीँ बहकिन्थें
म कल्पना गर्थें
सपना देख्थें
तिम्रो नाममा प्रेमगीत लेख्थें
अनि एकदिन कुनै महफिलको बीचमा
दर्शक बनेर बसेकी तिम्रो नाममा
शेर बोलेर
उठिदिन अनुरोध गर्ने रहर गर्थें

अहिले यी सब रंगहीन लाग्छ
अर्थहीन लाग्छ
असम्भव लाग्छ

खास तिमीलाई सम्झन
कुनै दिन पर्खनु त पर्दैन
आवश्यक पनि छैन
तर कुनै सम्पर्क, सम्बन्ध र बाहाना
नभएपछि यसरी सम्झिएको छु कि
तिमी पनि एक नारी हौ !

Post a Comment

0 Comments