Header Ads Widget

Responsive Advertisement

जनता बनाैँ


मेरो देशमा एउटा यस्तो झुण्ड छ
जसलाई राष्ट्रिय झन्डाको आकार किन विगारेको भनेर खबरदारी गरेको मन पर्दैन
किनकी उनीहरु सरकार पक्षका जनता हुन् ।
जनता नभनौं उनीहरु हनुमान हुन् ।
हनुमान पनि नभनौं हनुमान सत्यका पक्षमा थिए ।
उनीहरु अन्धभक्त हुन्
अन्धभक्तले आफ्नो पक्षको दलले सरकार चलाउँदा छिमेकीले सिमा मिचिएको देख्दैनन्
अराजकता देख्दैनन्

छिमेकी देशको सांसदले राष्ट्रिय अखण्डतामा आँच आउने आपत्तिजनक अभिव्यक्ति दिंदा समेत सरकार चुप बसेर राष्ट्रभक्तिका नारा लगाउँछ । अनि त्यसको विरोध गर्ने प्रतिपक्षी दलले खबरदारी गरेको समेत मन नपर्ने जनता छन्यो देशमा ।
कसैको अधिनायकवादमा नबसेको एक सार्बभौमसत्ता सम्पन्न मुलुकमा सैंयौ विदेशी फौजले परेड खेलेकोमा उनीहरूलाई दुख्दैन यसरी छिमेकी देशको भ्रमण हुनुले अन्तरास्ट्रिय समुदायमा देशको सुरक्षा व्यवस्था कमजोर भएको सन्देश जान्छ भन्ने बुझेका छन् र पनि विरोध गरेको चित्त बुझ्दैन । अहिलेको सरकारमा एउटा यस्तो दल सहकार्यमा छ
जसले हिजो भारतिय विस्तारवाद मुर्दावाद भन्यो
भित्ताहरुमा लेखेका ती नाराहरु अझैसम्म पनि कतै जीवित छन्
तर आफू सरकारमा जाँदा ती नाराहरु बिर्सियो ।
भर्खरै स्कुल जान थालेका बालकहरुलाई बुर्जुवा शिक्षा अनावश्यक छ ।
हामी संगै प्रयोगात्मक शिक्षा, जनवादी शिक्षा ल्याउनको लागि युद्द लडौं भनेर साथ लिएका हरुलाई रद्दी बनाएर छोडिदियो

यो भूगोलभित्र केहि फरक धारका मान्छे छन् जसले सत्यलाई सत्य भन्न जानेका छन्
उनीहरू निकै कम होलान् तर छन्
मेरो देशमा केही यस्ता मिडिया छन्
जसले विदेशी राष्ट्र प्रमुख संग प्रधानमन्त्री लगायतका मन्त्री अनि जनप्रतिनिधिले साक्षात्कार गर्ने कार्यक्रममा
प्रवेश निषेध गरिएको खबर लेख्न जानेका छैनन्
लोकतान्त्रिक मूल्य मान्यता विपरीतका ती अराजकता जनताले फेसबुकमा लेखिदिनु पर्छ
यस्तो खबर आफैले लेखेर प्रकाशन गर्न उनीहरुको कलम डगमगाउछ ।
मेरो देशमा यति आशावादी जनता छन् जसले पटकपटक सुपारी बोकेका,
अलैंची बोकेका,
चिया बोकेका मालवाहक सवारीसाधन
सिमानामा रोकेर दु:ख दिने देशको सरकारले समुद्रमा पानीजहाज चलाउन दिन्छ भनेर विश्वास गर्छन्
छोटो हवाइ रुटको अनुमती नदिएर बर्सेनि करोडौं रुपैयाँको नोक्सानी गराउने सरकारले
रेल ल्याएर सुख दिन्छ भनेर जनता विश्वास गर्छन्
नाकाबन्दी गरेर पेट्रोलियम पदार्थको हाहाकार सृजना गर्ने,
बेलाबखत नेपाली नम्बर प्लेटका ट्राङ्करलाई प्रवेश निषेध गर्ने,
सिमानामै रोकिदिने सरकारले पेट्रोलियमको पाइपलाइन घरमै पुर्‍याइदिन्छ भनेर ढुक्क हुन सक्छन्
यी सबै काम नहोलान् भन्न सकिन्न तर
भए भने पनि त्यसको मूल्य मुलुकले चुकाउनुपर्छ
हिजो नाकाबन्दी हुँदा दूतावास अगाडि टायर बाल्नेहरुको सरकार
आज नाकाबन्दी बिर्सेका छैनौं भनेर आफ्नै कार्यालयमा व्यानर टासेको देखेर सहन सक्दैन
मेरो देशमा जनता थरीथरीका छन्
कोही गुदी नभएका स्वघोषित बुद्धिजीवी छन्
कोही बुद्धिजीवी भएर पनि बुद्धिजीवी भन्न लायक छैनन्

आजको विश्वमा विज्ञान प्रविधिको विकास गर्नुपर्ने अवस्थामा
मेरो देशको सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयको अवसान गराउँछ
अनि समृद्धिका चर्का नारा लगाएर चर्चा बटुल्छ
मेरो देशका जनताका सपना त्यति महत्वाकांक्षी छन्
जो नेपाली माटो छोड्ने पक्का भएको दिन औधी खुशी हुन्छन्
अन्तर्राष्ट्रिय विमानस्थलमा फोटो खिच्नु ऐतिहासिक सफलता सम्झन्छन्
तैपनि मेरो देशमा केही युवा बाकि छन्
केही प्रेममा संगै जीउने बाचा खादै बसेका छन्
केही चोक गल्लीमा गाँजा खाँदै बसेका छन्
मेरो देश समृद्द हुने सपना देख्दादेख्दै मरे हजुरबाहरु
हामी गाउँ शहर समृद्द बनाएर मर्ने हो
हनुमानगिरी छोडौं
जनता बनौं दलिय आस्था राखौं
तर अन्धभक्त नबनौं
गलतलाई गलत भन्न सिकौं
पहिले नेपाली बनौं
अनि बल्ल समृद्धि सम्भव छ जय नेपाल !

Post a Comment

0 Comments