![]() |
यो परिक्षाको समय हो !
मनलाई जबर्जस्ती केही कापी, कसैको नोटकपी र निकै मोटा महँगो मूल्य पर्ने फोटोकपी गरिएका किताबले घेरा हालेर राखेको छ । मोबाइलको ग्यालरीमा कुनै जवान तरुनीसंग खिचिएको सेल्फी हुनुपर्ने उमेर हो तर एउटा पनि छैन त्यसको सट्टामा केरमेट गरिएका कागजका पानाहरु बोकेर आफै भारी छ मोबाइल । एकदिन च्याट धेरै हुन्छ भनेर म्यासेन्जर अनइनिस्टल गरे अह पटक्कै राम्रो भएन कैयौं सूचनाबाट बन्चित हुनुपर्यो । अनि फेरि इनिस्टल । अचेल कसैले फोन गर्दैन प्रायः सबैसँग फेसबुक मेसेन्जर छ त्यतै कुरा हुन्छ । मेरा बा यो बारे अनविज्ञ हुनुहुन्छ र हप्ता दिनमा मोबाइल बज्छ । मेरो घर भएको ठाउँ पनि यसपटक नगरपालिकामा परेछ । परेको थिएन पारिएको हो कुनै नगरपालिकालाई जनसंख्या नपुगेर हामीलाई मिसाएका रे । मिसाउनेले आफुलाई जनसंख्या नपुगेको मात्र देखे गाउँमा बिजुली, पानी र सडक नपुगेको कहिल्यै देखेनन । स्थानीय निकायको चुनाव हुने भनेपछि गाउँका खिया लागेका नेताहरु फेरि जुर्मुराएका छन् । देशमा जनता छैनन् कुनै न राजनीतिक दलका कार्यकर्ता मात्र । घर छेउको गुणस्तरीय बोर्डिङ स्कुलमा पार्टी नमिलेर भनेर कोश टाढा कुनै आफ्नो राजनीतिक दलको कहलिएको स्कुलमा बच्चालाई भर्ना गर्ने समाज छ देशमा । यति फरक छ अन्य देश र नेपालमा । अन्त जनताले हरेक चुनावमा विचार बदल्छन , खासमा पार्टी परिवर्तन गर्नुपर्ने जनताले हो अनि पो नेतृत्व परिवर्तन हुन्छ तर अपसोच यहाँ नेताले पार्टी परिवर्तन गर्छन् जनता कट्टर बन्छन् अनि परिवर्तन खोज्छन् चिनीमा नुनिलो संवाद खोजेजस्तो ।
केहिदिन पहिले धेरैदिनमा फोन बज्यो त्यो पनि अमेरिकाबाट । अचम्म परे त्यता कोहि छैन । चिनजानका आफन्तमध्य केही खाडी जानुबाहेक अरुदेशमा हाम्रो पहुँच छैन । भारतमा कैयौं आफन्त छन् प्राय हरेक शहरमा कामदार । फोन गर्ने एकजना स्कुल पढ्दाको साथी रहेछ , डिभी परेर ४ बर्ष पहिले त्यता पुगेको गएदेखी सम्पर्क थिएन । नेपाल फर्कन लाग्दा सम्झेको रहेछ । उ मात्र एकजना थियो जसले बिदेशबाट फर्कदा खबर गर्यो बरु जादा खबर गरेन । मेरो कोठामा महिनौं बसेर खाडी छिरेका केही आफन्तहरू प्रायः फुर्सदिला हुन्छन् । मेसेन्जरमा बेलाबखत म्यासेज छोडिरहने तर फर्किने समय तय भएदेखि सम्पर्कमा आउदैनन । अब मात्र उनीहरुले मलाई विद्यार्थी देखे । डिस्टर्व हुन्छ सोचेर विमानस्थल छेउको कुनै लजमा महिलासहित एकरात बिताएर भोलिपल्ट घर गए । तर खाडी जानुपुर्व कैयौं रात बिताएको निशुल्क होटेल एन्ड लजको मालिकलाई खबर समेत गरेनन् । अमेरिकनले फर्कदा के उपहार ल्याइदिउ भन्न फोन गरेको रहेछ । खुशी लाग्यो आत्मीय प्रवृत्ति देखाएकोमा । मैले आइफोन मागेन कुनै महङ्गो उपहार भनेपनी उसले ल्याइदिने लगभग पक्का थियो नेपाल हुँदाको उ राम्रो साथी हो । रुखको मेवा टिपेर बेच्यो भने १०/२० रुपैयाँ आउँछ त्यो नेपाली हो । तर घरछेउको सुरिलो रुखमा चढेर मेवा टिप्नु चुनौती मात्र होइन भाचिने खतरा समेत हुन्छ । डलर कमाउनु त्यो भन्दा सहज पक्कै छैन । भयो नेपाल आइज संगै बसेर कफी खाउला पुग्छ मैले यति भने । म त्यति धेरै शौखिन मान्छे हैन निर्वाहमुखी भन्दा पनि हुन्च खासमा यो सब परिस्थितिले बनाएको पनि हुनसक्छ । सबचिज पुगे पो सौखिन हुने हो , गुजारा चलाउनेलाई सौखिन बन्नु त्यति सहज छैन ।
म मा पनि केही रहर पक्कै छन् । घडी र चस्मा मेरालागि सौखका वस्तु हुन तर यी रहर हुन् । मैले अहिलेसम्म यी चिज खरिद गरेको छैन । तर बजारमा मूल्य सोधेको छु कैयौंपटक , कैयौं ठाउँमा मलाई यसको मूल्य निकै महँगो लाग्छ । कुनैकुनै फोटोमा लगाएको चस्मा छ भने त्यो फोटोमा मात्र मेरो हो नत्र कुनै साथिको । मलाई यी वस्तु कसैले उपहार पनि दिएको छैन ।
खासमा मैले अहिलेसम्म उपहार पाएको छैन भन्यो भने गलत हुन जान्छ अन्याय हुन्छ, मम्मी बुबाले अमुल्य जिन्दगी उपहार दिनुभएको छ र त म छु अनि त यी सब चिज छन् । त्यसको अलावा जन्मदिन मनाउने शहरमा आएपछि एकजना केटिसाथीले दिएको एउटा कप र एउटा फ्रेम यो नै उपहारको इतिहास हो मेरो तर मलाई यी सब खुब प्रीय लाग्छन् । लगभग ४ बर्ष भयो तर साह्रै माया लाग्छ दिने मान्छेको जत्तिकै । ऊनी प्रत्यक्ष सम्पर्कमा छैनन् तैपनि यी सब चिज सुरक्षीत छन् ।
उ नेपाल आयो ।
एक विहान पशुपतिनाथ दर्शन गर्न जानुबाहेक धुलो छ भनेर काठमाडौं घुमिएन । बाहिर बस्नेहरूले स्वास्थ्यलाई पहिलो दर्जामा राख्छन् अनि मनोरञ्जन । फ्रीमा पाएपछि एक्लैले एकफुल भोड्का सिध्याउने प्रवृत्ति हुदैन उनिहरुमा । फेसनशैली रहनसहन सिक्ने नेपालीले यो पनि उनीहरुबाट सिक्नुपर्ने विषय हो ।
दुई दिनमा घर हिड्यौ ।
बसपार्क पुग्दा हामी संगै एकजना सुन्दर हामीले टिकट काटेको टिकट काटेको रात्रीबस चढ्न आइपुगिन । बोका प्रवृत्तिका बोकेर हिडेका हरेक पुरुषले उनलाई आफू छेउको खाली सिटमा देख्न चाहेका थिए तर उनी सुरक्षीत यात्राको लागी परिवारका कुनै सदस्य सहित आएकी रहिछन् । देशमा महिलाको हकमा असुरक्षा व्याप्त छ । यस्तै कारणले महिलाहरू लामो यात्रामा एक्लै यात्रा गर्न असहज महसुस गर्छन् । छेउछाउमा रहेका हरेकजसो ऊनी बसेको सिटतिर गलत मनसायले नजर लगाउथे । बाटोमा उसले गोरा देशका रमाइला घटना सुनायो । श्रम सम्मानका कुरा सुनायो र सबैले अमेरिका जानू त्यति सहज नभएको सुनायो । त्यहाको जनतामा सचेतना अनि देशप्रेम रहेको तर नेपालमा दलप्रेम रहेको सुनायो । म अमेरिकन गफ सुन्न रमाइरहेको थिए ।
बाटोमा खाना खान गाडी रोक्यो राजमार्गका होटेल रेस्टुरेन्टमा खानाको गुणस्तर निकै कम हुन्छ तर मूल्य उच्च । गाडिवालाहरु पनि यात्रुलाई त्यही महङ्गो खाना खुवाउने ठाउँमा लैजान्छन जहाँ एउटामात्र होटल हुन्छ अनि भोकाएका यात्रुले बाध्य भएर महँगो मूल्य तिर्नुपर्छ । कालोबजारी हुने हरेक ठाउँमा यस्तै हुन्छ सेटिङ जहाँ विकल्प हुदैन । यो सेटिङ मालपोतजस्ता कुनै सरकारी कार्यालयमा बुढो नायव सुब्बाले अड्काएको फाइल र बाहिर बस्ने दलालको भन्दा कम हुदैन । खाना नखाने कुरा भयो । मैले केही चाउचाउ र चिउरा बोकेको थिए त्यही खायौं । साथीले बियर खाने प्रस्ताव गर्यो । मैले हुदैन भने । यत्तिका बर्षपछि भेटेको मैले भन्दा पनि खादैनस भनेर उसले मित्रतालाई गतिलो हतियार बनायो अनि मलाई अचानो । मैले मित्रतालाई बचाउन सके तर आफू अचानो बन्नबाट जोगिन सकेन । बाध्यता र अनुकुल परिस्थितिमा बियर पिउन म त्यति नाइनास्ती गर्दैन । यहाँ बाध्यता थियो । टेबुलमा बियर आइपुग्यो । छेउछाउमा बासी खाना खाइरहेका हरेकले हामीलाई मनमनै दरुवा सोचिरहेका थिए तैपनी बिस्तारै थपिदै गयो , कति पुग्यो थाह भएन । गाडी छुट्ने समय भयो । गाडीको सहचालक हामीलाई बोलाउन आइपुगे । हतपत्त निस्केर शौचालय पुगियो । झन ढिलो भयो भनेर सहचालक कराइरएका थिए । गाडीमा बसेपछी मजाले निदाइएछ । बिहान दस बजेतिर घर पुगियो ।
हाम्रो घर लगभग नजिकै थियो । गाडी रोकिनु अगाडि उसले चस्मा लगायो कपाल मिलायो । उसलाई अमेरिकन बन्नु थियो तर मलाई केही थिएन । मसङ्ग चस्मा पनि त थिएन । गाउँमा उ फर्कने कुरा लगभग सबैलाई थाह थियो । चोकमा सबै आफन्त र साथिभाई भेला भएका थिए । सबैले उसैलाई हालखबर सोधे । मलाई कसैले सोधेन । म उसको छायामा परे । अनि लाग्यो कमजोर देशहरू साच्चिकै शक्तिशाली राष्ट्रको छायामा पर्दा रहेछन् ।
गाउँमा भएका तरुनीहरु सकेसम्म श्रृङ्गार गरेर उसको ध्यान आफुतिर तान्न तल्लिन थिए । उसलाई आफ्नो बनाउने होडबाजी नै थियो प्रेममा नपरेका तरुनीहरुमा । केही प्रेममा परेकाले पनि उसलाई आफ्नो कब्जामा पारेर प्रेमलाई लात मारिदिने मानसिकतामा थिए । उसको घरमा आउने बाहना खोजिरहन्थे । वास्तवमै नेपाली केटीको मानसिकता गलत छ । राम्रो खोज्ने नाममा आफ्नोपन नै गुमाउन पछि पर्दैनन् । राम्रो परिवार र विदेशी पि आर खोज्ने बाहनामा माया गर्ने मान्छे गुमाउनु त छदै छ कैयौं राम्रो भविष्य बोकेर देश, समाजलाई केही प्रतिफल दिन सक्ने केटीहरु एउटा घरको ठूलो घेराबन्दीमा पर्छन् र चुलोमै सिमित हुन पुग्छन् । ऊनीहरुको खुसीको परिभाषा समेत बदलिन्छ ।
घर पुगेको केहिदिनमा म राजधानी फर्किए । उसको लामै छुट्टी भएकाले केही महिना घरमै बिताउने कुरा थियो । मिलेसम्म बिहे समेत गरेर जाने कुरा रहेछ । बासंग केटी खोज्न जाने भन्ने कुरा छ रे । म ढुक्क छु अमेरिका शब्द सुनेपछि हरेक बा ले आफ्नी छोरीलाई समेत नसोधेर कुरो पक्का गरिदिने छन् । सोधिहालेछन् भनेपनी छोरीले आफ्नो बर्षौको प्रेम लात हानेर हुन्छ भनिदिने छन् । तर देशमा केही हुँदैन भन्न सक्ने हिम्मतवाली पनि छन् , थोरै होलान् तर छन् । म यी र यस्तै हिम्मतवालीले समाज परिवर्तन गरेकाे देख्न चाहान्छु ।
# परिकल्पना
©Ilamsal

0 Comments